रामबहादुर भए बुल्स म्यान

रामबहादुर भए बुल्स म्यान

काठमाडौंका रामबहादुर दाहाल बुल्स म्यान भएका छन्। उनले आफ्ना पाँच जना प्रतिद्वन्द्वीलाई पछि पार्दै ‘प्रथम मिस्टर बुल्स म्यान राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ को उपाधि जितेका हुन्। दाहालले उपाधिका साथ नगद १ लाख रुपैयाँका साथै आफ्नो तौल समूहमा प्रथम भएबापत थप नगद १० हजार रुपैयाँ प्राप्त गरे।

 

बुल्स म्यान क्लब पोखराको आयोजनामा गत शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धाको ५५ किलोग्राम तौल समूहमा पोखराका सुरेश गुरुङले स्वर्ण पदक प्राप्त गरे। उनले काठमाडौंका रवि महर्जनलाई पछि पारेका थिए। तृतीय स्थानमा सुरेश खत्री रहे।

६० किलोग्राममा काठमाडौंका सुजन तामाङले काठमाडौंका रुजेश शाहीलाई द्वितीय स्थानमा झारे। तृतीय स्थानमा पोखराका कमल भण्डारी रहे। ६५ किलोग्राममा काठमाडौंका रामहरि खनालले प्रथम स्थान प्राप्त गर्दा काठमाडौंकै सञ्जीव श्रेष्ठले दोस्रो स्थानमा चित्त बुझाए। भक्तपुरका रामकृष्ण तामाखु तेस्रो स्थानमा रहे। ७० किलोग्राममा उपाधि विजेता रामबहादुर दाहालले काठमाडौंकै दीपकध्वज ठकुरीलाई पछारे। यो तौलसमूहमा धरानका  होमराज शर्मा तेस्रो भए। ७५ किलोग्राममा काठमाडौंका महेश्वर महर्जनले स्वर्ण, पोखराका नीरज गुरुङले रजत तथा काठमाडौंका सरोज मानन्धरले कांस्य प्राप्त गरे। ७५ किलोग्राममाथिको तौलमा काठमाडौंका ज्ञान नारायण महर्जनले स्वर्ण प्राप्त गर्दा धरानका तोर्णबहादुर भुजेल (पारस) ले रजत तथा बाँकेका दिनेश सहनीले कांस्य पदक पाए।

Source: https://saptahik.com.np/archives/2014/06/13/14482