खेलाडी सम्मान कार्यक्रम | २०७९

खेलाडी सम्मान कार्यक्रम | २०७९
सारिरीक सुगठन खेलको विकास तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बुल्सम्यान क्लव पोखराले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सारिरीक सुगठन प्रतियोगितामा गण्डकी प्रदेशका पदक विजेता तथा सहभागि खेलाडीहरुलाई एक कार्यक्रमका विच सम्मान गरेको छ ।
पोखरामा मंगलबार एक कार्यक्रमको आयोजना गरी क्लबले नगद सहित सम्मानपत्रले खेलाडीहरुलाई सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३ वटा महत्वपूर्ण स्वर्ण पदक हात पार्न सफल भएको थियो । नवौं राष्ट्रियमा १७० सिएम र सो भन्दा मुनि मेन्स फिजिकमा प्रदिप रेग्मी, ५५ केजी तौलमा बिबेक हमाल र ६५ केजी तौलतर्फ अशिम गरुङ्गेले स्वर्ण पदक हात पारेका थिए । विजेता मध्ये प्रदिप र बिबेक कास्कीका हुन् भने अशिम नवलपुरका हुन् ।
कार्यक्रममा सारिरीक सुगठनका प्रशिक्षक जिवन घिमिरे र सहायक प्रशिक्षक कमलराज भण्डारीलाई समेत सम्मान गरिएको थियो । क्लवका सदस्य समेत रहेका फुल कन्ट्याक्ट करातेमा रजत पदक विजेता खेलाडी रुपक नेपाली र व्याडमिन्टनका कास्य पदक विजेता भुगोल गुरुङलाई क्लवले सम्मान गरेको थियो । यसै गरी नवौं राष्ट्रियमा सहभागि खेलाडी, सहयोगी व्यक्ति र संस्थाहरु, व्यवस्थापक तथा कास्की जिल्ला सारिरीक सुगठन संघलाई समेत बुल्स म्यान क्लवले सम्मान गरेको छ । कास्की जिल्लाका स्वर्ण पदक विजेता खेलाडीलाई नगद ५/५ हजार र सहभागि खेलाडीलाई नगद २/२ हजार प्रदान गरिएको क्लवका अध्यक्ष नुना गुरुङले जानकारी दिएका छन् ।
कार्यक्रममा आफ्ना भनाई राख्दै बुल्सम्यान क्लव हङकङका संरक्षक इश्वर गुरुङले कुनै पनि खेलकुद विकास र संस्थालाई जिवन्त बनाउन स्वास्थ्य नै पहिलो सर्त रहेको बताए । उनले स्वास्थ्यका कारणले क्लवका संस्थापक परिकल्पनाकार बुद्ध गुरुङ र संस्थापक उपाध्यक्ष राजु गुरुङ जस्ता महत्वपूर्ण व्यक्तित्व गुमाउन परेको पिडा सबैका लागि अप्रिय रहेको तथ्य अघि सार्दै भने–“स्वास्थ्य नै पहिलो प्राथमिकता हो । पहिला आफ्नो स्वास्थ्यलाई ध्यान दिनुस । जसबाट संस्था पनि सवल अनि सफल बन्न सक्छ भने खेलकुदको विकास समेत हुन्छ ।”
४५ वर्षे आफ्नो वैदेशिक यात्रामा नेपालको विकास माथी उठ्न नसकेको र खेलकुदमा समेत परिवर्तन आउन नसकेको कुरा औल्याउँदै संरक्षक गुरुङले नेपाली खेलकुद विकासका लागि आफू संधै तत्पर रहेको बताए । उनले वुल्सम्यान क्लवले गण्डकी र पोखरालाई चिनाउन अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउँदै अवको २० वर्षमा सारिरीक सुगठन प्रतियोगितामा विश्व च्याम्पियन हुने योजनाका साथ अघि बढ्न सबैको सहयोगको खाँचो रहेको उल्लेख गरे ।
त्यस्तै क्लवका संरक्षक तथा प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङले खेलकुदमा भएको अनियमितता र भ्रष्टाचारका कारण खेलाडीहरु ठूलो समस्या भोग्नु परेको तथ्य अघि सार्दै क्लवले आफ्नो उद्धेश्य अनुरुप गरेको कार्य निकै सर्हानिय रहेको बताए । उनले बुल्स म्यान क्लवको स्थापना संगै खेलकुदको विकास संगै खेलाडी स्वरोजगार बन्ने अभियान अघि बढेको बताए ।
क्लवका अधयक्ष नुना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका उपाध्यक्ष रुपेन्द्र गुरुङ ‘ल्याक्स’, कास्की जिल्ला सारिरीक सुगठनका अध्यक्ष राकेश जोशी, प्रशिक्षक जिवन घिमिरेलगायतले आफ्ना भनाई राख्दै क्लवले खेलाडीलाई सम्मान गरेर महत्वपूर्ण र उदाहरणिय कार्य गरेको बताए ।